Sunday, February 17, 2013

सम्पन्नताले पारेको अप्ठेरो

नेपाली र अङ्ग्रेजी भाषाबिच तुलना गर्दा धेरैले नछुटाउने एउटा कुरा के हो भने अङ्ग्रेजीमा दोस्रो पुरुषलाई सम्बोधन गर्ने शब्द एउटा मात्रै ‘यु’ छ भने नेपालीमा आदरका तह अनुसार भिन्न रूप छन् । धेरैले यसलाई नेपाली भाषाको सम्पन्नता (रिचनेस)को एक पक्ष मान्छन् । हुन पनि हो, “तँ यता आइज” र “तपाईँ यता आउनुहोस्”बिचको फरक अङ्ग्रेजी समानार्थी वाक्य “क्यान यु प्लिज कम हियर”मा सायदै भेटिन्छ । तर यही सम्पन्नता कहिलेकाँहि समस्या हुने रहेछ । 
सायद् पारिवारिक, सामाजिक वातावरणको प्रभाव होला, म सानैदेखि मेरा पाँचै दिदीहरूलाई ‘तँ’ नै भन्थेँ, अनि दिदीहरूले पनि मलाई त्यसै भन्थे । पछि धेरैले भनेपछि सुधार्छु भनेको, सकेको छैन । अहिले ठुला तिन जनालाई ‘तिमी’ र साना दुई जनालाई ‘तँ’ भन्छु । यस कारण कतिपय अवस्थामा अरुका अगाडि दिदीहरूका कुरा गर्नुपर्दा मलाई अप्ठेरो लाग्छ । उनीहरूलाई ‘तपाईँ’को तहमा राखेर कुरा गर्दा आफूलाई कृत्रिम लाग्छ भने ‘तिमी’ वा ‘तँ’को तहमा राख्यो भने पनि आफ्नै बेइज्जत भएजस्तो लाग्छ । 
तर सहोदर बाहेकका अरु दिदी दाइलाई भने म ‘तपाईँ’ नै भन्छु । तर यसमा पनि अपवाद छन् । मेरी मामाकी छोरी एक जना, ठुलीआमाकी छोरी एक जना र काकाकी छोरी एक जना मभन्दा करिब एक वर्ष जेठा छन् । सबैको बिहे भइसक्दा पनि म उनीहरू तिनै जनालाई ‘तिमी’ भन्छु । 
आफ्ना भान्जाभान्जीलाई आदर गर्नुपर्छ भन्ने मैले सानैदेखि सुनेको हुँ । मेरा मामा माइजूले मलाई प्रायः ‘तपाईँ’ र अपवादमा ‘तिमी’ भन्नुहुन्छ । तर म भने यसमा पनि ठिक उल्टो छु । म मेरा भान्जाभान्जीलाई प्रायः ‘तिमी’ भन्छु । आफ्नै घरमा हुर्किएका एक भान्जी र एक भान्जालाई त म ‘तँ’ नै भन्छु, त्यही नै मलाई स्वभाविक लाग्छ । 
प्राथमिक स्कुलमा पढ्दा आफ्नै कक्षाका कसैलाई पनि ‘तपाईँ’ भनेको मलाई सम्झना छैन । धेरैलाई ‘तँ’ र कोहीकोहीलाई ‘तिमी’ भनियो होला । छ कक्षामा नयाँ ठाउँको नयाँ स्कुलमा आएपछि कसैलाई ‘तँ’ भन्ने कुरै भएन । प्रायः सबैलाई ‘तिमी’ भनियो । कक्षामा पहिला र दोस्रा हुने सोममाया राई र तारा बस्नेतलाई सबैले ‘दिदी’को सम्बोधनमा ‘तपाईँ’ भन्थे, मैले पनि त्यसै गरेँ । त्यसै वर्षको अन्त्यमा सोममाया र तारा दिदी दुबैले स्कुल छोडेपछि कक्षामा ‘तपाईँ’ भन्नुपर्ने कोही बाँकी रहेन । त्यसपछिको मेरो रणनीति आफ्नै कक्षाका आफ्नै उमेरका साथीहरूले आफूलाई जसरी सम्बोधन गर्छन्, आफूले पनि त्यसरी नै बोलाउने भयो । यस अनुसार एक दुई जनालाई ‘तँ’ र बाँकीलाई ‘तिमी’ भन्नुपर्ने भयो । आज मसँग निरन्तर सम्पर्कमा रहेको र सधै ‘तँ’ भनिने एक मात्र साथी बाँकी छ । 
जतिजति नजिक भइन्छ, त्यतित्यति ‘तपाईँ’ ‘तिमी’ र ‘तिमी’ ‘तँ’मा बदलिँदै जान्छ भन्ने सिद्धान्त ममा कहिल्यै लागू भएन । एक दुईदेखि दस एघार वर्षअघि भेटेका करिब आधा दर्जन साथीसँग म अत्यन्त नजिक छु जस्तो लाग्छ आजसम्म पनि । यसमध्ये केही महिला र केही पुरुष छन् । केही नयाँ कुरा हुनेबित्तिकै उनीहरूलाई सुनाउन हतार हुन्छ मलाई । उनीहरू पनि मलाई धेरै कुरा सुनाउँछन् जस्तो लाग्छ । उनीहरू र मबिच धेरै र नियमित कुराकानी हुन्छन्, गफ गरेर घण्टौँ बिताएको अनुभव छ । तर पनि न म तीमध्ये कसैलाई ‘तँ’ भन्छु, न त कसैले मलाई त्यसो भन्छ । (यस अर्थमा ती सबै मेरा ‘बेस्ट फ्रेन्ड’ हुन् । ‘बेस्ट फ्रेन्ड’ एउटा मात्र हुन्छ भन्ने मान्यतामा पनि म विश्वास गर्दिन । यदि ‘बेस्ट फ्रेन्ड’को परिभाषा एउटा मात्र साथीमा सीमित हुन्छ भने मेरा त कोही ‘बेस्ट फ्रेन्ड’ नै छैनन् ।)
भेटेको एक दुई महिनामै नजिक हुनुभएकी एक साथीलाई मैले “अब म तपाईँलाई ‘तिमी’ भन्छु, तपाईँ पनि मलाई ‘तिमी’ भन्नुहोला । त्यसो गरे हामीबिचको कुराकानी अलि स्वभाविक होलाजस्तो लाग्छ मलाई” भनेको त उहाँले “कहाँ त्यसो हुन्छ । हुँदैन” भन्दिनुभो तत्काल । त्यसपछि हामी ‘तपाईँ’कै समबोधनमा सम्पर्करत छौँ । यसले हामीबिचको मित्रतामा खासै असर पारेको त छैन । तर यस घटनापछि भने मलाई कसैलाई यस्तै प्रस्ताव राख्न बडो डर लाग्ने गरेको छ र कसैलाई त्यसो भनिहाल्न सकेको पनि छैन ।
स्कुले तह, प्लस टु र ब्याचलर तहका सबै सहपाठीलाई ‘तिमी’कै सम्बोधन ठिक थियो । मास्टर पढ्न सुरु गरेपछि भने आफू सरह उमेरका छोराछोरी हुर्काइसकेका र शिक्षकभन्दा पनि उमेरदार केही साथीहरू भेटिनुभो । उहाँहरूलाई ‘तिमी’ भन्ने प्रश्न नै भएन, धकै नमानी ‘तपाईँ’ भनिन्छ । यसरी फरक फरक उमेरमा साथीहरू सँगै हुँदा ‘तपाईँ’ र ‘तिमी’बिच बडो अन्योल हुने रहेछ । म धेरै साथीले एउटै मान्छेलाई कहिले ‘’तिमी  र कहिले ‘तपाईँ’ भनेको सुन्छु । अरु त अरु, कक्षामा पढाउने शिक्षकलाई पनि समस्या । बडो अलमलका साथ उहाँहरूले ‘तपाईँ’ र ‘तिमी’का बिच निर्णय गर्नुभएको धेरै अनुभव गरेको छु । साथै, कहिलेकाहिँ त उहाँहरू पनि एउटै मान्छेलाई पालैपालो ‘तपाईँ’ र ‘तिमी’ लाइदिनुहुन्छ । 
यसमा मेरो भने प्रष्ट नीति छ । पहिलो, आफूभन्दा करिब दुई तिन वर्षभन्दा जेठा र त्यसभन्दा जेठा सबैलाई ‘तपाईँ’ नै भन्ने । दोस्रो, आफू सरहका लागि आफूलाई उनीहरूले के भन्छन् त्यसमा ध्यान दिने । अर्थात्, उनीहरूले आफूलाई ‘तपाईँ’ भने ‘तपाईँ’ र ‘तिमी’ भने ‘तिमी’ भन्ने । त्यसै अनुसार म हाल कक्षाका आधाजसोलाई ‘तिमी’ र आधाजसोलाई ‘तपाईँ’ भनिरहेको छु । सायद् एक दुई जनालाई भने कुराकानीकै क्रममा उनीहरूका ‘तपाईँ’लाई छोडेर ‘तिमी’ नै भन्न बानी लगाएँ । एक जना सहपाठीले त मलाई कहिलेकाँहि ‘हजुर’ ‘हजुर’ भन्नुहुन्छ । म पनि उहाँले भन्दा बढ्दा ‘हजुर’का ‘हजुर’ लाइदिन्छु प्रतिक्रियामा । अनि उहाँ आफैँ ‘तपाईँ’मा झर्नुहुन्छ । 
पहिले आफूलाई ‘तिमी’ नै भन्ने कसैले पछि गएर ‘तपाईँ’ भन्यो भने पनि अप्ठेरो महसुस हुने रहेछ । बाल क्लब र युवा क्लबमा रहँदा चिनेका विभिन्न संस्थाका दाइदिदीले त्यस बेला मलाई ‘तिमी’ नै भन्नुहुन्थ्यो, जुन स्वभाविक हुन्थ्यो । अचेल भने उहाँहरूमध्ये कसैले ‘तपाईँ’ लगाइदिनुहुन्छ । के गरौँ, कसो गरौँ हुन्छ । कसैलाई “तपाईँले मलाई ‘तपाईँ’ होइन, ‘तिमी’ नै भन्नुपर्ने हो भनिदिन्छु” भने प्रायशः चुपचाप बस्छु । 
त्यसभन्दा पनि बढ्ता अप्ठेरो कहाँ महसुस हुन्छ भने कोही साथी कहिलेकाँहि ‘तिमी’ भनिहाल्छन्, अनि “सरी है !” भनेर मलाई फेरि ‘तपाईँ’मै चढाउँछन् । सायद् उनीहरूलाई म बढी मान खोज्ने मान्छे जस्तो लागेको पो हो कि ! तर फेरि कहिलेकाँहि यस्तै प-यो भने म आँटिलो भएर “मलाई ‘तिमी’ नै भन्नुभए हुन्छ” भन्नेवाला छु । 
६ फागुन २०६९ 

3 comments:

  1. Dami cha yar maile purai padhe yar timi lai ta dekhe batai timi bhanne gareko chu yar maile ta hehe nice one dude

    ReplyDelete
  2. Hami "TIMI" ...........ramro experience raichha

    ReplyDelete
  3. Good article with a great starting and a logical ending...the flow in the middle was equally balanced...As I said last time, writing quality of yours can take you to next level but the condition is that you must not limit yourself to blogs only. Rather you should start finding other platforms as well..God Bless.

    ReplyDelete